कोरोना संक्रमण तीव्र रुपमा काठमाडौंमा फैलिरहेको छ । अब आगामी दिनमा गर्नुपर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकु अस्पतालका सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले आयोमेललाई दिएको अन्तर्वार्ता पाठकहरुका लागि प्रस्तुत गरिएको छ ।
अब के गर्ने?
संक्रमण अधिक बढ्न थालेसँगै क्वारेन्टिन, अस्पतालका आइसोलेसन र भेन्टिलेटर अभाव हुन थालेका छन्। अब सरकारले मिलेर नियन्त्रणमा कसरी चुक्यौं भनेर समीक्षा गनुपर्ने र सोहीअनुसार योजना बनाउनुपर्ने पुनले सुझाएका छन्।
त्यस्तै, मानिसमा व्यापक जनचेतना फैलाउनु जरुरी भएको उनी बताउँछन्।
‘मानिसलाई थाहा छ जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ भन्ने तर उनीहरूको विश्वास जितेर आफ्नो सुरक्षाका लागि पहल गर्न सचेत गराउनु आवश्यक छ,’ डा. पुनले भने।
अस्पतालका सेवासुविधामा पहुँच नभएका कारण उपलब्ध भौतिक पुर्वाधार प्रयोग गर्नुपर्ने उनी सुझाउँछन्।
‘हाल विद्यालय, होटल बन्द छन्। तत्काल भौतिक पूर्वाधार बनाउन त समय लाग्छ। त्यसैले उपलब्ध पूर्वाधारलाई नै आइसोलेसन वा क्वारेन्टिन बनाएर उपचार दिन सकिन्छ,’ उनले भने।
कयौं स्वास्थ्यकर्मी, नर्स तथा स्वास्थ्य क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी खाली बसिरहेका छन्। उनीहरूलाई यस्तो अवस्थामा कसरी काम गर्ने भनेर तालिम दिएर जनशक्ति तत्काल उत्पादन गर्न सकिन्छ।
‘कोरोना संक्रमितलाई सबैभन्दा गाह्रो हुने भनेको सास फेर्न हो। भेन्टिलेटर हामीसँग पुग्ने गरी नभएका कारण हामीले अक्सिजन थेरापी सुरु गर्नुपर्छ,’ उनले भने।
विश्वभरि नै अक्सिजन थेरापी गरिएको छ र यो एकदम काम लाग्ने उपचार भएको विभिन्न अध्ययनले देखाएका छन्।
‘अक्सिजन थेरापी जसले पनि घरघरमा गर्न सक्छ। सरकारले पुग्ने मात्रामा अक्सिजन उपलब्ध गराइदिए आफैं पनि घरमै उपचार गर्थे,’ डा. पुनले भने, ‘यसका लागि स्वास्थ्यकर्मीलाई पनि छोटो समयको तालिम दिए पुग्छ। सामान्य र माइल्ड बिरामीलाई भेन्टिलेटर आवश्यक पनि पर्दैन र दक्ष जनशक्तिको पनि खाँचो हुँदैन।’