ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको हो । उक्त उत्सवमा सक्रिय सहभागिताका लागि बैठकले सबैलाई आह्वानसमेत गरेको छ । उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै बैठकले त्यसको तयारीमा जुट्न सबै मातहतका कमिटीलाई निर्देश गरेको छ ।
काठमाडौँ उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीको आयोजनामा सांस्कृतिक झाँकीसहित दिवसमा उत्सव आयोजना गरिने र त्यसका लागि झाँकीको संयोजन नेपाल जनसांस्कृतिक महासङ्घले गर्नेछ । सांस्कृतिक झाँकीको आवश्यक संयोजन पार्टी कार्यालयका तर्फबाट पनि गरिने छ । यसैगरी बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ । उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन् । अनेरास्ववियुको आगामी २५–२८ जेठमा महाधिवेशन हुँदैछ । कीर्तिपुरमा हुने यही महाधिवेशनबाट उमेर हद लगाउने एमालेले निर्णय गरेको हो ।