काठमाडौं । कलाकार विनोद अधिकारीका तीनवटा गीतहरु एकैपटक रेकर्डिङ भएका छन् । अष्ट्रेलिया निवासी कलाकार अधिकारीका गीतहरु राजधानीको एम.बी.म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङको काम सम्पन्न भैसकेको छ । तीन गीतमध्ये दुईवटा गीतको छायांकन समेत भैसकेको जानकारी कलाकार अधिकारीले दिएका छन् ।
केहि समय अगाडी शिव परियारको स्वरमा रहेको “मुखमा रामराम बगलीमा छुरा” बोलको म्युजिक भिडियो काठमाण्डौ लगायत ललितपुरका विभिन्न रमणीय ठाउँहरुमा छायांकन भएको छ । उक्त गीतमा विनोद अधिकारीकै मुख्य भुमिका छ भने उनलाई अहिलेकी चर्चित अभिनेत्री आयुष्मा कार्की र रबिन पोख्रेलले साथ दिएका छन् ।
विपिन आचार्यकै कथा अनि निर्देशनमा चर्चित क्यामराम्यान दुर्गा पौडेलको छायांकन रहेको उक्त गीतको सम्पादन अहिलेका चर्चित सम्पादक विकास ज्ञवालीले गरिरहेका छन्, गीत केहि दिनमा सार्वजनिक हुने तयारीमा छ ।
भक्तपुर घर भएका कलाकार अधिकारीकोे आफ्नै शब्द रचनामा रहेको उक्त गीतमा विपिन आचार्यको संगीत अनि एरेन्ज रहेको छ । उनका गीतमा चोखो मायामा हुने धोका र विश्वासघातमा आधारित वियोगान्त शब्दहरु समेटिएको छ ।
नेपाल रहँदाका समयमा काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न कलेजहरुमा अध्यापन गराउनुका साथै स्नातक तहदेखि विविएस सम्मका लेखा पुस्तक श्रृंखलाका लेखक समेत रहेका अधिकारी विगत सात वर्षदेखि अष्ट्रेलियाको डर्बिनमा बस्दै आएका छन् । त्यहाँ उनी श्रीमती सीता पन्त अधिकारी र दुई छोराहरु शुभान्जन र विमोचन अधिकारीका साथमा बस्दै आइरहेका छन ।
सानैदेखि गीत संगीत, साहित्य र समाज सेवामा रुचि भएका अधिकारीका कथा कविता अनि लेखहरु विभिन्न प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित भएतापनि गीत भने रेकर्डिङ गर्ने चाँजोपाँजो नमिलेको उनको भनाई छ । अहिले आएर आफ्नै जन्मभुमि भक्तपुरका विभिन्न ठाउँहरु समेटेको गीतमा आफ्नै स्वर दिन पाउँदा निकै खुशी छन् । आफूलाई सँधै सधै सक्रिय बनाइराख्न रुचाउने कलाकार अधिकारी सानै उमेरदेखि साहित्यमा रुचि राख्दथे । आफ्नो काममा सँधै लगनशील देखिने संगीतानुरागी अधिकारी सँधै हाँसिरहने रमाइलो स्वभावका व्यक्ति हुन् ।