गोरखा । आइतबार हावाहुरीसहित आएको चट्याङका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकामा दुई मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी जानकारी दिए ।
समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबारनै घटनास्थलतर्फ गइसकेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार “जिल्लाबाट गएको प्रहरी टोली आइतबार राति घान्द्रुक पुगेर बास बसेको छ । त्यहाँबाट पैदल पाँच घण्टाभन्दा बढी समय लाग्ने भएकाले सोमबार दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ ।”
त्यसैगरी आइतबार राति नै गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी जानकारी दिए ।
आइतबार साँझ आफ्नै घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको हो ।
मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ भने आइतबार साँझ पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले, १८ बर्षिया विपना आले घाइते भएका छन् । घाइते दुवैजनाकोे चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।