काठमाडौं । ग्लोबल आइएमई बैंकले आयोजना गरेको “ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन” कार्यक्रम अन्तर्गत टिम क्याल्कुलुस प्रथम भएको छ । क्याल्कुलुसले प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप रु १ लाख जित्न सफल भएको हो ।
यसका साथै, डब्लुडिके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरुले क्रमश दोश्रो, तेस्रो, चौथो र पाँचौ पुरस्कारबाट पुरस्कृत भएका छन् । दोश्रो हुने टोली डब्लुडिकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौ हुने क्रमश टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै, वेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत भने बैंकले डिजीविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता संचालन गरेको हो ।
यस प्रतियोगितामा २१ टोलीहरुलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरिएको थियो । प्रतियोगि टोलीहरु विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, विरगंज, काभ्रे, धरानबाट सहभागि भएका थिए ।
प्रतियोगिताका विजेता टोलीहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।
नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन संचालन गरेकोमा डेपुटी गभर्नर बम बहादुर मिश्रले आयोजक ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए । यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीहरुलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधाहरुमा नविनतम् प्रविधीको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास नेपाल राष्ट्र बैंकले लिएको डेपुटी गभर्नर मिश्रले जानकारी दिए ।
प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीहरुले बैंकको वेवसाइट मार्फत आवेदन दरखास्त गरेका थिए । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा संचालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ्ग र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।