काठमाडौं । चालु आर्थिक वर्ष ९ महिनाको अवधिमा नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा टेलिकमले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको यसै अवधिमा टेलिकमले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर यस आर्थिक वर्षमा कम्पनीको आम्दानी नै घटेपछि नाफामा असर परेको हो । मुख्यतः ब्याजवापतको आम्दानीमा उच्च गिरावट आएको छ ।
ठूलो रकम निक्षेपमा लगानी गरेको नेपाल टेलिकमको ब्याज आम्दानी यस आर्थिक वर्षको ९ महिनाको अवधिमा ४६ प्रतिशत घटेको छ । पहिले ब्याजवापत ५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले अहिले २ अर्ब ८० करोड ३५ लाख आम्दानी गरेको छ ।
यस्तै ग्राहकबाट संकलन भएको आम्दानी भने सन्तुलित छ । गत आर्थिक वर्ष यस्तो आम्दानी २५ अर्ब ४८ करोड रहेकोमा अहिले २५ अर्ब ३१ करोड रुपैयाँ छ । ब्याज आम्दानी घट्दा कुल आम्दानी नै घटेको छ । गत वर्ष कुल आम्दानी ३१ अर्ब २० करोड रुपैयाँ रहेकोमा यस वर्ष २८ अर्ब ४३ करोड रुपैयाँमा झरेको छ ।
यस आर्थिक वर्षमा नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी समेत घटेको छ । गत वर्ष वार्षिक प्रतिशेयर आम्दानी ४१ रुपैयाँ कायम भएको कम्पनीको यस वर्ष प्रतिसेयर आम्दानी जम्मा २१ रुपैयाँ ५ पैसामामात्र छ ।
कुल १८ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७२ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा छ । आइतबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ छ ।