ललितपुर। चालू आर्थिक वर्षको अन्त्यतिर अर्थात आर्थिक वर्ष सकिनै लाग्दा सरकारको पुँजीगत खर्च जम्माजम्मी ३४ प्रतिशत पुगेको छ भने ६५ प्रतिशत राजश्व संकलन भएको छ । संघीय सरकार अन्तर्गतको निकाय अन्तर्गत कूल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँमध्ये वैशाख महिना सकिँदासम्म जम्मा १ खर्ब २० अर्ब ३७ करोड ६४ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल विनियोजित बजेटको जम्ममा ३४.१६ प्रतिशत बराबर हो । अर्थात् २ खर्ब ३२ अर्ब २ करोड १६ लाख रुपैयाँ बजेट अझै बाँकी देखिन्छ ।
यसैगरी सरकारले यो अवधिमा कुल ११ खर्ब ५७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ । यो रकममध्ये चालु खर्चतर्फ ७ खर्ब ७३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ २ खर्ब ६४ अर्ब २८ करोड ९४ लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । चालु र वित्तीय व्यवस्थातर्फ भएको यो खर्च क्रमशः ६७.७९ प्रतिशत र ७१.९६ प्रतिशत खर्च भएको देखिएको छ ।
चालू आर्थिक वर्षको यो १० महिनाको अवधिमा सरकारको आम्दानी ९ खर्ब २२ अर्ब ४३ करोड १९ लाख रुपैयाँ भएको छ । त्यसमध्ये कर राजश्वतर्फ ८ खर्ब २८ अर्ब ९४ करोड १८ लाख रुपैयाँ, गैरकर राजश्वतर्फ ९३ अर्ब ४९ करोड १ लाख रुपैयाँ संकलन भएको छ । सरकारले संकलन गरेको यो राजश्व कुल लक्षित राजश्वको ६४.९९ प्रतिशत बराबर हो । यस आर्थिकवर्षको अन्त्यसम्म अर्थात् असार मसान्तसम्ममा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको राजश्व संकलन गर्ने सरकारको लक्ष्य रहेको छ ।
समिक्षा अवधिसम्म सरकारले १२ अर्ब ६९ करोड ३० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको तथा ११ अर्ब २० करोड ९४ लाख रुपैयाँ बराबरको अन्य भुक्तानी प्राप्त गरेको महालेखाको तथ्यांक छ । यद्यपि सरकारले अर्धवार्षिक समीक्षामार्फत् बजेटको लक्ष्य ९.०१ प्रतिशत घटाएको छ । यस अनुसार १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान छ । त्यसमध्येमा चालुतर्फ १० खर्ब २९ अर्ब २० करोड, पुँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया