काठमाडौं । चिकित्सकहरुको श्रम शोषण भएको भन्दै आन्दोलन गरिरहेका आवासीय चिकित्सकहरु सेतो पोशाकमा सडक प्रदर्शनमा उत्रेका छन् । २८ दिनदेखि विरोधमा उत्रिएका आवासीय चिकित्सकहरुले सरकारी सरह निर्वाह भत्ता माग गरेका छन् । आन्दोलनका क्रममा उनीहरु आज काठमाडौंको माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य मन्त्रालयभित्र प्रवेशको प्रयास गरेका हुन् ।
यसअघि आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रीपरिषद्बाटै भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै आवासीय चिकित्सकहरुले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन् । स्वास्थ्य मन्त्रालयसम्मै पुगेर प्रदर्शन गर्ने भन्दै चिकित्सकहरुको भीड अगाडि बढेपछि त्यसलाई प्रहरीहरुले अघि बढ्नबाट रोक्ने प्रयास गरेको हो ।
गत माघ २५ मा बसेको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजहरुले उक्त निर्देशनको पालना नगरेको भन्दै चिकित्सकहरु आन्दोलन गरिरहेका छन् ।
चिकित्सक संघले आफ्ना मागहरू पुरा नभए भोली अर्थाते बैशाख १२ गते देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवाहरु ठप्प पार्ने चेतावनी दिएका छन् । निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सकहरु बताउँछन् ।
आफ्ना सेवा सुविधाको माग गर्दै २८ दिनदेखि आवासीय चिकित्सकहरु राजधानीमा प्रदर्शनमा गरिरहेका छन् । आवासीय चिकित्सक संघले बुधबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा आफूहरुमाथि प्रहरीको निरन्तर दमन भएको कुरा सार्वजनिक गरेको छ ।
चिकित्सक संघले यो आन्दोलन व्यक्तिगत स्वार्थको लागि नभएर सम्पूर्ण आवासीय चिकित्सकको अधिकार र आत्मसम्मानका लागि गरिएको भन्दै आफ्ना मागहरु पूरा नभए अस्पतालका सम्पूर्ण सेवाहरु बन्द गर्ने चेतावनी समेत दिएको छ ।