काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्षको चैत सम्ममा पर्यटकको सङ्ख्यामा कमी आएको हो ।
गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्षको चैत सम्ममा एक लाख ८२ हजार २२७ जना पर्यटकले निकुञ्ज घुमेका छन् । गत आर्थिक वर्षमा दुई लाख ५० हजार ३३७ जनाले निकुञ्ज घुमेका थिए ।
चालु आर्थिक वर्षको चैतसम्म नेपाली ९२ हजार ८९०, सार्कका १६ हजार ७९८ र तेस्रो देशका ७२ हजार ५३९ पर्यटकले निकुञ्ज घुमेका छन् । गत आर्थिक वर्षको तुलनामा यस वर्ष आन्तरिक पर्यटकको सङ्ख्यामा ठूलो गिरावट आएको तथ्याङ्कले देखाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्या र सफारी गर्ने जिप सङ्ख्यामा कमी आउँदा पर्यटकसँगै राजस्वसमेत घटेको बताए । यद्यपी निकुञ्जमा भीडभाड नभएको वन्यजन्तुका लागि राम्रो हुने उनको भनाइ छ । गत आर्थिक वर्षमा यो अवधिमा २८ करोड २६ लाख राजस्व सङ्कलन भएकामा यस वर्ष २३ करोड ६४ लाख ९९ हजार मात्र राजस्व संकलन भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले कोभिड पछि मानिसमा क्रयशक्ति कम्जोर बन्नु र कोभिड पछि उकुसमुकुस भएका धेरै पर्यटक वर्ष निकुञ्ज घुमेकाले यस वर्ष सङ्ख्या घटेको हुनसक्ने अनुमान गरे ।