ललितपुर । नेपाल प्रहरीले चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा संलग्न १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ५७ दिनमा अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
प्रतिवादी बनाउनुपर्ने भनेर राय दिइएका मध्ये १८ जना फरार छन् भने पक्राउ परेका र हाजिर जमानीमा छुटेका ९० जनालाई प्रतिवादी कायम गरिएको छ ।
पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ वटा मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको छ । बिहीबार अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रसाईंलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र सङ्गठित अपराध मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको हो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीले राय दिएको छ ।