ललितपुर । नेपाली जनसम्पर्क समिति न्यूजिल्याण्डले आसन्न अधिवेशनको तयारी थालेको छ । अधिवेशनको मिति र विस्तृत कार्यक्रम चाँडै सार्वजनिक गर्ने तयारी गरेको समितिले यसको स्वरूप क्रियाशील सदस्यता सङ्कलन अभियान सुरु गरेको छ । सङ्गठनलाई थप सशक्त र लोकतान्त्रिक बनाउने उद्देश्यका साथ समितिले नेतृत्वले नेपाली काँग्रेसका सम्पूर्ण समर्थकहरूलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ । सम्बन्धित संयोजक वा प्रतिनिधिमार्फत सदस्यता फारम सङ्कलन प्रक्रिया अघि बढाइने समितिले जानकारी दिएको छ ।
समितिका सभापति बुद्धि सागर घिमिरे अभियानबारे जानकारी दिँदै भने, “नेपाली जनसम्पर्क समिति प्रवासी नेपालीहरूको साझा मञ्च हो । हामी सबैको सक्रियताबाट मात्र यो संस्था अझ मजबुत र लोकतान्त्रिक बन्न सक्छ । अधिवेशनलाई सफल बनाउन सबैलाई क्रियाशील सदस्यता फारम भरेर सहभागिता जनाउन आग्रह गर्दछु।” नेपाली विद्यार्थी सङ्घका केन्द्रीय सदस्य रोशन श्रेष्ठले नेपाली काँग्रेसको विचारधारा र सङ्गठनात्मक अनुशासनलाई प्रवासी भूमिमा बलियो बनाउने बेला आएको बताएका छन् ।
उनले भने, “नेपाली काँग्रेसको विचारधारामा आस्था राख्ने हामी प्रवासी नेपालीहरूले सङ्गठनप्रति उत्तरदायी बन्नुपर्ने बेला आएको छ। जनसम्पर्क समिति न्यूजिल्याण्डले अधिवेशन हाम्रो साझा आवाजलाई सङ्गठित गर्ने अवसर हो। क्रियाशील सदस्यता फारममार्फत हामीले लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउनेछौँ । ” यसै गरी शंकरदेव क्याम्पसका स्ववियु सदस्य सुलभ हमालले युवाको सहभागिता अनिवार्य भएको बताउँदै छोटकरीमा प्रतिक्रिया दिए,“प्रवासी भूमिमा युवाहरूको सक्रियता पार्टीलाई नयाँ उचाइमा लैजान सहायक हुन्छ। हामी सबै मिलेर अधिवेशनलाई सफल बनाऔँ । ”
यस्तै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवं प्रसिद्ध गीतकार लोकराज अधिकारीले लोकतन्त्रवादी संस्थालाई बलियो बनाए मात्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बलियो हुने र लोकतन्त्र बलियो हुने भन्दै अधिवेशनको पूर्ण सफलताको कामना गरेका छन् ।