ललितपुर। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । नयाँ महिना सुरु हुनु अगावै बैंकहरुले ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम जेठ महिनाका लागि यस्तो ब्याजदर निर्धारण गरेका हुन् । नयाँ ब्याजदर जेठ १ गतेबाटै लागु हुनेछ ।
यसपटक वाणिज्य बैंकहरूले तोकको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्। बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारका बचत निक्षेपको ब्याजदर बढीमा २ प्रतिशत भन्दा धेरै अन्तरमा राख्न नपाउने व्यवस्था छ । यसै अनुसार नै साधारण तथा विशेष बचत खाताका ब्याजदरहरू निर्धारण गरिएको छ ।
जसअनुसार अधिकांश बैंकहरुले बचत खातामा दिइने ब्याजदर ३ प्रतिशतमै सीमित राखेका छन् । तल्लो सीमा नै सबैभन्दा धेरै भने एनआईसी एसिया बैंकको ३.१० प्रतिशत छ । त्यस्तै, बचत खातामा सबैभन्दा धेरै ब्याजदरको माथिल्लो सीमा एनआईसी एसिया बैंककै ५.१० प्रतिशत रहेको छ । यो खातामा माथिल्लो सीमामध्ये सबैभन्दा कम नेपाल एसबीआई बैंकको ३.२० प्रतिशत रहेको छ ।
त्यसैगरी व्यक्तिगत मुद्दतीतर्फ ३.०० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दतीमा तल्लो तहको सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको ३.०० प्रतिशत रहेको छ भने जेठ महिनाका लागि सबैभन्दा धेरै प्रभु बैंकले ५.१० प्रतिशत अफर गरेको छ । व्यक्तिगत मुद्दतीतर्फ माथिल्लो सीमा अनुसार सबैभन्दा धेरै ब्याज एनआईसी एसिया बैंकले ६.६० प्रतिशत दिने जनाएको छ । तल्लो सीमा भने नेपाल बैंकको ५.४५ प्रतिशत रहेको छ ।
एक वर्षे व्यक्तिगत मुद्दती तर्फको निक्षेपको ब्याजदर लक्ष्मी सनराइज बैंकको सबैभन्दा कम ३.५० प्रतिशत र प्राइम कमर्सियल बैंकको सबैभन्दा धेरै ५.७५ प्रतिशत रहेको छ ।
संस्थागत मुद्दती खातातर्फ भने न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । यसमा धेरैवटा बैंकले तल्लो सीमामा न्यूनतम ३.०० प्रतिशत ब्याजदर दिँदै आएका छन् । तल्लो सीमामा सबैभन्दा धेरै ब्याज ३.२५ प्रतिशत रहेको छ । हिमालयन, प्राइम र सिद्धार्थ बैंकले यस्तो ब्याजदरको अफर गरेका छन् । त्यस्तै, माथिल्लो सीमामा सर्वाधिक ब्याजदर निर्धारण गर्नेमा एनएमबि बैंक र एनआईसी एसिया बैंक रहेको छ ।
जेठ महिनाको लागि व्यक्तिगततर्फ एक वर्षे मुद्दतीमा सबैभन्दा बढी ५.७५ प्रतिशत ब्याज दिने बैंक प्राइम कर्मसियल बैंक रहेको छ । संस्थागत तर्फ भने सबैभन्दा बढी ब्याजदर निर्धारण गरेको बैंक एनआइसी एसिया बैंक रहेको छ ।