ललितपुर । गत भदौ २४ र २४ गतेको जेनजी आन्दोलन र तोडफोड र आगजनीबाट पुगेको क्षति भएको नेपाल बिमा प्राधिकरणले तथ्यांक सार्वजनिक गरेको छ । विभिन्न बिमा कम्पनीहरुले उक्त क्षतिबापत सवा २३ अर्ब रुपैयाँ बराबरको बिमा दावी परेको बताएको छ ।
प्राधिकरणका अनुसार असोज २८ गतेसम्म डेढ दर्जन निर्जीवन बीमा कम्पनीमा २३ अर्ब २१ करोड ३६ लाख रुपैयाँको बीमा दाबी परेको छ । अन्य १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार १६३ वटा बीमा दाबी परेको प्राधिकरणले जनाएको छ। एक महिनाभित्रै बीमा दाबीमध्ये कम्पनीहरुले १ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी समेत गरिसकेको प्राधिकरणले जनाएको छ । निर्जीवन बीमा कम्पनीमा परेको दाबीमा बुधबारसम्म भएको भुक्तानी अग्रीम हो ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै दाबी सिद्धार्थि प्रिमियम इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा ३ सय ९४ वटा बीमा दाबीबाट ५ अर्ब ४८ करोड ५४ लाख २९ हजार रुपैयाँ दाबी परेको छ । त्यसमा कम्पनीले अहिलसम्म ७८ करोड ८ लाख ८२ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ । उक्त इन्स्योरेन्समा मिनबहादुर गुरुङको भाटभटेनी सुपरमार्केटको ठूलो दाबी रहेको पाइएको छ ।
त्यसैगरी अर्काे ठूलो दाबी दि ओरियन्टल इन्स्योरेन्समा ९८ वटा बीमा दाबीबाट ५ अर्ब २४ करोड ८२ लाख ५१ हजार बीमा दाबी परेको छ । त्यसमध्ये कम्पनीले अहिलेसम्म ७१ लाख ७० हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको छ ।
त्यसैगरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा अहिलेसम्म २ सय १५ वटा बीमा दाबीबाट २ अर्ब ७९ करोड, शिखर इन्स्योरेन्समा ४ सय ३३ वटा बीमा दाबीबाट २ अर्ब ४१ करोड ११ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ सय ४२ वटा १ अर्ब ५९ करोड रुपैयाँ, नेको इन्स्योरेन्समा २ सय ५९ वटा बीमा दाबीबाट १ अर्ब १५ करोड रुपैयाँ बीमा दाबी परेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्समा ९८ करोड ६२ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योेरेन्समा १ सय ७० वटा बीमा दाबीबाट ८८ करोड ८५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स २ सय ३८ वटा बीमा दाबीबाट ६३ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा २ सय ५ वटा बीमा दाबीबाट ६० करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा २ सय ४६ वटा ५८ करोड ४१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १ सय ८ वटा बीमा दाबीबाट ४८ करोड ८९ लाख रुपैयाँ र प्रभु इन्स्योेरेनसले १ सय ११ वटा बीमा दाबीबाट २१ करोड ८ लाख रुपैयाँ बीमा दाबी परेको छ । नेसनल इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ८ करोड ५७ लाख र १ करोड ४९ लाखको दाबी परेको छ भने बाँकी तीन वटा लघु बीमा कम्पनीमा १ करोड रुपैयाँ भन्दा कमको दाबी रहेको प्राधिकरणले जनाएको छ ।
जसअनुसार असोज महिनासम्म सिद्धार्थ प्रिमियरले ७८ करोड ८ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड २७ लाख, शिखर इन्स्योरेन्सले ४२ करोड २७ लाख, हिमाल एभरेष्ट इन्स्योरेन्सले २४ करोड ५३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । सार्जजनिक तथ्यांक अनुसार नेसनल इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सले अहिलेसम्म कुनै पनि दाबीको भुक्तानी दिएको छैन ।
प्राधिकरणको तथ्यांक अनुसार हालसम्म सबैभन्दा धेरै बीमा दाबी सम्पत्ति बीमामा परेको छ । सम्पत्ति बीमामा ६ सय ७३ वटा निवेदनमा १९ अर्ब ७१ लाख ६२ हजार रुपैयाँको दाबी परेको छ जसमध्ये १ अर्ब ५५ करोड १७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । संख्यात्मक रुपमा मोटर बीमाको दाबी धेरै परे पनि यसको दाबी रकम भने सम्पत्ति बीमाको तुलनामा कम छ । मोटर बीमामा २ हजार २ सय ५६ वटा निवेदनबाट ३ अर्ब ४४ करोड ९५ लाख रुपैयाँको बीमा दाबी परेकोमा ३६ करोड २५ लाख रुपैयाँ बराबरको भुक्तानी भइसकेको छ । इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १ सय ८२ वटा निवेदनबाट ३३ करोड १७ लाख रुपैयाँको बीमा दाबी परेकोमा ३ करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको छ । परिवहन बीमामा १२ वटा निवेदनबाट १ करोड ६३ लाख रुपैयाँ तथा अन्य बीमामा ४० वटा निवेदनबाट ३८ करोड ८६ लाख रुपैयाँ बीमा दाबी परेकोमा २२ लाख ८२ हजार रुपैयाँ भुक्तानी भएको छ ।
प्रदेशको आधारमा हेर्ने हो भने सबैभन्दा धेरै बागमती प्रदेशमा १७ सय ६ वटा निवेदनबाट १७ अर्ब ५९ करोड ९३ लाख रुपैयाँको दाबी परेको छ । कोशी प्रदेशमा ३ सय ९४ वटा निवेदनबाट २ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ दाबी रहेकोमा २६ करोड ५४ लाख रुपैयाँ बीमा भुक्तानी भएको छ। गण्डकीमा सबैभन्दा धेरै २ सय १३ वटा बीमा दाबीबाट १ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ दाबी परेको छ । त्यसमध्ये १० करोड ६५ लाख रुपैयाँ भुक्तानी भएको छ भने मधेशमा ६९ करोड ५५ लाख, लुम्बिनीमा ४७ करोड १९ लाख, कर्णालीमा १० करोड ७ लाख रुपैयाँ र सुदुर पश्चिममा ३३ करोड ५६ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया