काठमाडौं । चालु आर्थिक वर्षमा ज्योति विकास बैंक लिमिटेड शतप्रतिसत नाफा कमाउन सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यही समीक्षा अवधिको तुलनामा १०१.१४ प्रतिशत बढी नाफा कमाएको हो । गत वर्ष यस बैंकले १५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको सञ्चालन नाफा बढेको छ भने इम्पेयरमेन्ट चार्ज घटेको छ ।
चालू आर्थिक वर्षमा बैंकको इम्पेयरमेन्ट चार्ज ८३ करोडबाट घटेर ५२ करोड १६ लाख रुपैयाँमा झरेको छ । यसको सञ्चालन नाफा पनि ९८।३८ बढेको छ । गत वर्ष २२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले अहिले बढाएर ४३ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी भने ७.१९ प्रतिशतले घटेर १ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ । हाल यसको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ जम्मा रहेको छ ।
यस वर्ष बैंकको नाफासँगै प्रति शेयर आम्दानी समेत बढेको छ । गत वर्ष ४ रुपैयाँ ६२ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर ९ रुपैयाँ ३ पैसा कायम भएको छ । हाल बैंकको प्रति शेयर नेटवर्थ १५१.९ रुपैयाँ रहेको छ ।