काठमाडौं । ‘झोला’ फेम्ड निर्देशक यादव कुमार भट्टराई निर्देशित वैशाख १९ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथा चलचित्रले बोकेको छ । डिजिटल उपकरण अझ भनांै मोवाइल एडिक्सनको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर, अस्पताल भर्ना हुने अवस्था र निको नहुने रोगजस्ता गम्भीर परिणामहरूलाई उजागर गरिएको छ ।
चलचित्रकी प्रमुख कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छन् । उनका बुवाको भुमिकामा रहेका अभिनेता बिशाल पोख्रेलले यस अघिका चलचित्रमा गरेका भन्दा जिवन्त अभिनय गरेको देखिएको छ । ट्रेलर हेरेर उनको अभिनयको प्रसंशा पनि भैरहेको छ । चलचित्रमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको पनि उत्कृष्ट अभिनय रहेको छ ।
मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् । ‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।