काठमाडौं । चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक–कर्मचारीहरुले आज टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् । शिक्षक–कर्मचारीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन् । पढाउन छोडेर हड्तालमा उत्रिएको शिक्षक संगठनले दिन दिनै फरक शैलीमा सरकारको सांकेतिक विरोध गर्दै आन्दोलन गरिरहेको छ ।
मंगलबार नयाँ बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । शिक्षकको माग नसेन्नु सरकारलाई सोमबार सिटी फुकेका थिए भने मंगलबार शिक्षकको समस्या नदेखेको भन्दै टर्च लाइट बालेर सांकेतिक विरोध गरेका हुन् ।
यतिबेला निकै ठूलो संख्यामा शिक्षकहरुले प्रदर्शन गरिरहेका छन् । सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । उनीहरुको प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
शिक्षा ऐन जारी नगराइ घर नफर्कने अठोटका साथ आन्दोलनरत शिक्षकहरुले यो अनितम र निर्णायक आन्दोलन भनेका छन् । यतिबेला गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनरत छन् ।
काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । शिक्षकहरुको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण समेत प्रभावित हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने चिन्ता छ ।
शिक्षकहरुले यसअघि कालोपट्टी बाँधेर, सिट्टी फुकेर र मौन भएर पनि प्रदर्शन गरेका थिए । आज उनीहरुले मोबाइल र हेड ल्याम्प प्रयोग गरेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् ।