काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसहित १०० देशमाथि लगाएको करको नयाँ दरसूची सार्वजनिक भएको छ । अब नेपालबाट अमेरिका जाने सबै बस्तुमाथि १० प्रतिशत कर थपिेएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै नेपालसहित १०० देशमाथिको करको नयाँ दरसम्बन्धी सूची सार्वजनिक गरेका हुन् ।
अब नेपालले अमेरिकी वस्तु आयातमा लगाउँदै आएको १० प्रतिशत करको बदलामा अमेरिकाले १० प्रतिशत नै कर थपेको हो। १० प्रतिशत करलाई अमेरिकाले आधारभूत लाइन बनाएको छ ।
अमेरिकी राष्ट्रपतिले करको नयाँ दरलाई डिस्काउन्टेड रेसिप्रोकल ट्यारिफको नाम दिएका छन् । ट्रम्पले भनेको रेसिप्रोकल ट्यारिफ अनुसार अरु कयौँ देशले ठूलो मात्रामा छुट पाउँदा नेपाल जस्तो १० प्रतिशत मात्र कर लगाउने देश भने मारमा परेका छन् ।
सूचीअनुसार भारतले अमेरिकी सामान आयातमा ५२ प्रतिशत कर लगाउने गरेकोमा अमेरिकाले उसमाथि २६ प्रतिशत कर मात्र लगाएको छ । चीनले ६७ प्रतिशत कर लगाउने गरेकोमा उसमाथि ३४ प्रतिशत कर लगाइएको छ । यो आधारमा यी देशहरुले झण्डै आधा छुट पाउँदा १० प्रतिशत मात्र कर लगाउने नेपाल जस्ता साना कतियपय देश भने मारमा परेका छन् । नेपालबाट अमेरिका निर्यात हुन बस्तुहरु त्यति धेरै नभए पनि नयाँ कर नीतिले निर्यात व्यापारमा संलग्न नेपाली व्यवसायीहरुलाई भार बढ्ने देखिएको छ ।
नयाँ अमेरिकी कर प्रणाली अमेरिकी समयअनुसार ५ अप्रिल राति १२ बजेर १ मिनेटदेखि लागू हुनेछ । १० प्रतिशत भन्दा बढी कर भने ९ अप्रिलदेखि लागु हुने भनिएको छ ।
नयाँ कर नीतिले अमेरिकालाई ब्यापारमा सफल बनाउने ठूलो मद्दत गर्नेछ भन्ने राष्ट्रपति ट्रम्पको बुझाइ छ ।