काठमाडौँ । सोमबार राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगम लिमिटेडले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो ।
घटेको नयाँ मूल्यअनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्ट मा बिक्री मूल्य कायम गरिएको छ । साथै, पेट्रोल र एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ।
डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँले घटेको छ भने हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।
मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २५ रुपैयाँ निर्धारण भएको छ ।