काठमाडौं । अधिकांश सांसदहरूले आन्दोलनरत शिक्षकहरूलाई ढिला नगरी विद्यालय फर्किने वातावरण बनाउन माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरुले महिनौ दिनसम्म शिक्षकको आन्दोलन लम्बिँदै जाँदा सुनौलो भविष्य बोकेका विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
शिक्षक आन्दोलनलाई दमन होइन जतिसक्दो छिटो उनीहरुको माग सम्बोधन गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने सांसदहरुको आग्रह छ । साथै शिक्षकको माग सम्बोधन र शिक्षा ऐन निर्माणको विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग सांसदहरुको रह्यो ।
सोमबार बसेको प्रतिनिधिसभाबो बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले लोकतान्त्रिक सरकारले आन्दोलनरत पक्षमाथि दमन नभएर उनीहरूको माग सम्बोधनमा ख्याल गर्नुपर्ने बताए ।
यस्तै नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले सिङ्गो संसद् शिक्षक आन्दोलनप्रति गम्भीर रहेको भन्दै यसको अनुभूति सिङ्गो देशले गर्ने गरी शिक्षामन्त्री रघुजी पन्तले सदनबाट उनीहरुलाई आश्वस्त पार्नुपर्ने बताए । उनले संयमित भएर आन्दोलन गर्न शिक्षकहरूको ध्यानाकर्षण आग्रह गरे । शिक्षकसँग विभिन्न सहमति गरेर कार्यान्वयन नगर्ने प्रवृत्तिले अहिलेको समस्या निम्तिएको भनेर सरकारको ध्यानाकर्षण गराए ।
त्यसैगरी राप्रपाकी सांसद रोशन कार्कीले शिक्षकमाथि दमन भएको भन्दै सरकारले आन्दोलन दबाउन गरेको प्रयासको विरोध गरिन् । शिक्षकहरूलाई सहज रुपमा विद्यालय फर्किने वातावरण बनाउन माग गरिन् ।
माओवादी सांसद देवेन्द्र दाहालले शिक्षकलाई सम्मान गर्नुपर्नेमा सरकारले दमन गरिरहेको भनेर विरोध गरे । सरकार गम्भीर हुँदा शिक्षा ऐन बनाउन समय नलाग्ने भन्दै सकारात्मक वातावरणका लागि आग्रह गरे ।
यस्तै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा वर्तमान सरकार मात्र नभएर पछिल्ला तीनवटै सरकारको भूमिका रहेको बताए । ‘पछिल्ला तीन वटा सरकारले पटक–पटक गरेका सम्झौता कार्यान्वयन नगर्ने र शिक्षकहरुलाई धोका दिने गर्दा यस किसिमको समस्या भएको उत्पन्न भएको बताए ।
पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले राज्य अधिनायकबाद तर्फ हिंडिरहेको भन्दै सरकारले शिक्षक आन्दोलनमा दमन गरिरहेको र त्यसतर्फ ध्यानाकर्षण गराइन् ।