ललितपुर। हिजो (शनिबार) लमजुङको वेशीसहरमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार भयो । खुकुरी प्रहारबाट घाइते भएका खुसीजंग गुरुङ र सुदीप अधिकारीको चितवनमा उपचार भइरहेको छ । घाइते भएका गुरुङ वेशीसहर नगरपालिका वडा नम्बर–१ को अध्यक्ष समेत हुन् । जिल्ला अधिवेशन उद्घाटनको क्रममा उनीहरूलाई तरुण दलकै अर्को समूहले खुकुरी प्रहार गरेका थिए ।
दुई पक्ष बीचको विवादपछि खुकुरी प्रहारबाट घाइते भएका अरू ३ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । घटनामा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीहरुको खोजी कार्य भइरहेको लमजुङ प्रहरीले बताएको छ । प्रहरीका अनुसार ‘आक्रमणमा संलग्नहरूको पहिचान र खोजी कार्य भइरहेको छ।’
घटनाको समयमा गण्डकी प्रदेशका मन्त्रीद्वय टकराज गुरुङ र भेषबहादुर पौडेल दुवैजना घटनास्थलमै । उनीहरू दुवैले फरक समूहको प्रतिनिधित्व गर्छन् । दलभित्रैका दुई फरक समूहबीचको विवादमो खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।