ललितपुर । प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न माग गरेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद लामाले हुम्लाको लिमीस्थित तिलगाउँमा १ जेठमा हिमताल फुटेर आएको पहिरोका कारण उक्त गाउँ नै तहसनहस बनाएको घटनातर्फ सरकारको ध्यानाकर्ष गराएका छन् । उनले त्यस क्षेत्रमा रहेका सबै ताल जोखिममा रहेको भन्दै उद्धारका लागि पहल गर्न सरकारलाई सुझाएका छन् ।
सांसद लामाले आजको बैठकमार्फत् तिलगाउँका अठार परिवारका ३२ जना हाल नजिकैको बारीमा त्रिपालको सहारामा बसिरहेको कुरा सदनलाई जानकारी गराए । “पहिरोपीडिहरु असाध्यै अप्ठ्यारो र त्रसित अवस्थामा छन्”, सांसद लामाले भने, “उनीहरुको तत्काल उद्धार गर्दै उक्त स्थानमा सरकारले निरीक्षण, संरक्षण र आवश्यक राहत उपलब्ध गराउन ध्यानार्कषण गराउँछु ।”
हिमालपारीको गाउँ भनेर चिनिने हुम्ला जिल्लाको तिलगाउँमा यही जेठ १ र २ गते गएको पहिरोले १८ परिवार जोखिममा रहेका छन् । जेठ १ गते ४७ सय मिटरमाथि रहेको हिमताल फुट्दा तिलागाउँमा जनधनको ठूलो क्षति पुगेको छ,’ सांसद लामाले भने, ‘काठका पाँचवटा पुल बगाएको छ । चार पाँच सय रोपनी खेतीमा लाग्ने सिंचाइकुलो क्षतविक्षत बनाएको छ भने १५ किलोवाट क्षमताको विद्युत परियोजना तहसनहस भएको छ ।’
त्यसैगरी अन्य हिमाल नजिकका बस्तीहरु दैवी प्रकोपको जोखिममा रहेकाले त्यसतर्फ सरकारको ध्यान पुग्न आवश्यक भन्दै सांसद लामाले सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।