काठमाडौं । राजावादीहरुको हिंसात्मक आन्दोलनको आरोपमा पक्राउ परेकाहरुको थप अनुसन्धानका लागि म्याद थप गरिँदैछ । शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी केही नेता–कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिने भएको छ ।
पक्राउको भोलीपल्ट सार्वजनिक विदाको दिन अर्थात् शनिबार परेका कारण आज मात्र उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो ।
राजावादीहरुको शुक्रबारको हिंसात्मक आन्दोलनका क्रममा ११२ जना पक्राउ परेका छन् । जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल, दुर्गा प्रसाईंको रोयल टास्क फोर्सका कमाण्डर लगायत रहेका छन् ।
त्यसैगरी राजतन्त्र पुनर्स्थापनाका लागि गरिएको आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने उनको निवासमै नजरबन्द गरिएको छ । घटनालाई अराजक बनाउ मुख्य भूमिका खेल्ने आन्दोलन मुख्य अभियन्ता दुर्गा प्रसाईं भने अझै फरार छन् ।
पक्राउ परेका ११२ जना मध्येबाट स्क्रिनिङ गरेर म्याद थप गराई अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी गराएको छ । उनीहरुविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ सँगै ज्यान मार्ने उद्योग, आपराधिक कृयाकलाप, आगजनी, सामाजिक अपराध, ज्यान सम्बन्धी कसुरजस्ता मुद्दा चलाउने प्रहरीको तयारी छ भए पनि कसलाई कुन मुद्दा लगाउने भन्ने टुंगो लागिसकेको छैन ।
शुक्रबारको प्रदर्शनमा हिंसा भड्काउन राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडा समेत पक्राउ परेका छन् ।
राजावादीको हिंसात्मक आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।