काठमाडौं । गत चैत १५ गते तीनकुनेको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंको बयान लिने काम सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईंको बयान लिन सुरु गरिएको हो ।
राजा फर्काउने दाबी गर्दै गत १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा गरिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि फरार प्रसार्इँलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।
प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । उनलाई २९ चैतमा काठमाडौं ल्याएर उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।
प्रसाईंको बयान लिने काम सोमबारबाट सुरु भएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले बताए । समय अभावका कारण सोमबार बयान नसकिएकोले मंगलबार फेरि बयान सुरु भएको छ ।
स्रोतकाअनुसार प्रसाईंविरुद्ध ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन सुरु गरिएको छ । साथै उनीमाथि ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा समेत बयान सुरु भएको छ ।
प्रसाईंलाई पहिलोपटक राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिइएको थियो । अन्य कसुर भने पछि थपिँदै गएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
तीनकुने घटनाका मुख्य अभियुक्त प्रसाईंले प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको भन्दै त्यस दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका थिए । ज्यान मार्ने उद्योगको कसुर प्रसाईंविरुद्ध सबैभन्दा बलियो मुद्दा बन्न सक्ने बताइएको छ । सार्वजनिक भएको भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ ।
तीनकुने घटनामा पत्रकारसहित दुईजनाको ज्यान गएको थियो ।