ललितपुर। तीनकुने घटनामा घाइते भएकी रेविका खत्रिलाई पोर्चुगलबाट सहयोग रकम प्राप्त भएको छ । उक्त रकम संयुक्त जनआन्दोलन समितिले अस्पताल पुगेर खत्रिलाई हस्तान्तरण गरेको छ । रकम समितिका संयोजक नवराज सुवेदी नेतृत्वको टोलीले आज (बुधबार) महाराजगन्जस्थित शिक्षण अस्पताल पुगी हस्तान्तरण गरेको हो ।
गत चैत १५ गते तीनकुने घटनामा खुट्टामा गोली लागि घाइते भएकी रेविका खत्रिलाई पोर्चुगलबाट प्राप्त रु. आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ सहयोग रकम सुवेदीसहितको टोलीले आज हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा निर्देशक समितिका सदस्यहरू डा. प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतको पनि सहभागिता रहेको थियो ।
पोर्चुगल निवासी रमेशराज बास्तोलाको संयोजनमा लिजवन पोर्चुगलबाट उपलब्ध उक्त सहयोग रकम उनीहरुले घाइते रेविकालाई हस्तान्तरण गरेका हुन् । टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही समेत उपस्थित थिए ।
गत चैत १५ गते खुट्टामा गोली लागि घाइते भएकी खत्रिको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।