२०८२ कार्तिक २३ | Nov 09, 2025

थापाथलीको व्यवसायिक टहरामा महानगरको डोजर

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १४
|
1k views

ललितपुर । काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू डोजर चलाएर भत्काएको छ ।

आज (शुक्रवार) काठमाडौं महानगरपालिकाले उक्त क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । यीसंरचनाहरु गुठी संस्थानको जग्गा हडपेर बनाइएको थियो । गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर तथा संरचना बनाइएको भन्दै महानगरपालिकाले हटाइएको जनाएको छ ।

यस्ता व्यवसायिक प्रयोजनका लागि निर्माण गरिएका टहराहरूले मन्दिर परिसरको सौन्दर्यतापूर्ण वातावरणलाई असर पुर्याएको महानगरको ठहर छ । सार्वजनिक जग्गाको दुरुपयोग गरी गुठी संस्थानको जग्गा हडपेर यस्ता संरचनाहरू निर्माण गर्ने प्रवृत्ति रोक्न यो अभियान आवश्यक रहेको महानगरले जनाएको छ ।

यस्ता अस्थायी घर–टहरा हटाउन महानगरले ३५ दिनको सूचना म्याद राखेर सूचना जारी गरेपनि व्यवसायीले अटेर गरेपछ महानगरले डोजर चलाएको हो । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ । विशेष गरी २०२२ मा मेयर बालेन्द्र शाहको नेतृत्वमा शुरु भएको यो अभियानले दर्जनौं स्थानमा कारबाही गरेको थियो ।

यसअघि बानेश्वर कम्प्लेक्स, काठमाडौं मल र आरबी कम्प्लेक्समा अवैध पसल तथा संरचनाहरू भत्काइएको थियो । त्यस्तै दरबारमार्ग र न्युरोडमा सार्वजनिक सडक मिचेर बनेका संरचनाहरूमा डोजर चलाइएको थियो । जसले फुटपाथ व्यापार र अव्यवस्थित पार्किङलाई लक्षित गरेको थियो । त्यस्तै असन र इन्द्रचोकमा अस्तव्यस्त पसलहरू हटाएर क्षेत्रलाई सफा र व्यवस्थित बनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया