चितवन । नेपालमा कमै मात्रामा देखिने थालेसेमियाका बिरामीले पाउने गरेको स्वास्थ्य बिमा शुल्क वापतका रकम पाएका छन् । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ जना बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गरेका हुन् ।
कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु. दुई लाख ४१ हजार ५०० रकम हस्तान्तरण गरेका हुन् । सन् २००५ देखि थालेसेमियाका बिरामीको उपचारमा सहयोग गर्दै आएको यस समाजले स्वास्थ्य बिमा कार्यक्रम लागू भएसँगै बिमावापतको रकम प्रदान गर्दै आएको उनले बताए ।
सुरुआतमा ३३ बिरामीलाई सेवा दिएर सुरु गरिएको यस कार्यक्रममा अहिले ६९ बिरामी पुगेका छन् । थालेसेमियाका बिरामीले महिनामा कम्तीमा दुई पटक रगत फेर्नुपर्ने हुन्छ ।
समाजले गरेको बिमाबाट बिरामीका परिवारले लाभ लिन पाउनेछन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलका अनुसार यस रोगका बिरामीको रक्तसेलमा समस्या हुने र सामान्य रक्तसेल निर्माण नहुने हुँदा रगत फेर्नुपर्ने हुन्छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया