२०८२ माघ २९ | Feb 12, 2026

दर्शक नभएपछि लमजुङ बेँसीसहरको सिनेमा हल बन्द

BusinessPati बिजनेस पाटी
|
२०८० माघ २४
|
255 views

लमजुङ २४  माघ २०८० 

लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेकाले हल बन्द गरिएको सञ्चालक प्रदीप बस्नेतले बताउनुभयो ।

बन्द हुनुअघिसम्म हिन्दी चलचित्र सालर प्रर्दशन गरिएको थियो । सो चलचित्रले पनि दर्शक तान्न सकेन । दुई सय ७३ सिट क्षमताको यो हलमा विगतमा शहरबजारबाट मात्र नभई ग्रामीण भेगबाट पनि दर्शक आउँदा ‘हाउस फुल’ हुन्थ्यो । सञ्चालक बस्नेतका अनुसार चलचित्र हेर्ने युवापुस्ता वैदेशिक रोजगारीमा गएका तथा स्वदेशमा रहेकाहरूले पनि इन्टरनेटको अधिकतम प्रयोग गर्दै चलचित्रको मनोरञ्जन वैकल्पिक रूपमा लिन थालेपछि हलमा आएर सिनेमा हेर्ने दर्शकको सङ्ख्या ह्वात्तै घटेको छ ।

हल बन्द गर्नुपर्दा दैनिक रु पाँच हजार घाटा हुने गरेको दुखेसो उहाँले गर्नुभयो । “ हल बन्द छ तर तीन जना कर्मचारीलाई मासिक तलब दिएर राखेको छु,” आगामी शुक्रबारदेखि दयाहाङ राई अभिनित नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ देखाउने योजनामा रहेको बताउँदै उहाँले उक्त चलचित्रले दर्शन तान्ने अपेक्षा आफूले गरेको बताउनुभयो ।

विसंं २०४५ मा यस हल स्थापना भएको थियो । विगतमा जिल्लामा यो हल बाहेक सुन्दरबजार, भोटेओडार, भोर्लेटार, सोतीपसललगायत स्थानमा हलहरु सञ्चालनमा थिए । सुन्दरबजारमा रहेको शान्ति चलचित्र हल सात वर्ष अघिदेखि पूर्णरुपमा बन्द छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया