रसुवा । दश वर्षको अवधिमा नेपालमा रसुवागढी नाकाबाट मात्र १४ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन आयात भएको छ । पछिल्लो दश वर्षमा चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात बढेको हो । नेपालमा विद्युतीय सवारीसाधनको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा अहिले त्यस्ता सवारीसाधन थन्किएर बसेका छन् ।
रसुवागढी नाकाबाट विद्युतीय सवारी आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएर बसेका हुन् ।
रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७० सवारीसाधनको भन्सार जाँचपास भइ काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ भने अन्य त्यतिकै नाकामै थन्किएका छन् ।
नेपालमा छिमेकी राष्ट्र चीनबाट विद्युतीय सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय अन्य उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ ।