ललितपुर । साइबर ब्युरोबाट सादा पोसाकका प्रहरीहरु सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न नक्साल भाटभटेनी स्थित अम्रपाली ब्यांक्वेट नजिकै उनको घरमा खटाइएका छन् ।
उनी विरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा जाहेरी दर्ता भए पछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए ।
त्यसबारे उनी विरुद्ध साइबर अपराध गरेको उजुरी परेको थियो । यसैबीच पाठकले समाचार सामग्री प्रशारण गरेकै आधारमा सरकारले जबरजस्ती गर्न खोजेको बताएका छन् । पाठकले प्रेस काउन्सिल र पत्रकार महासंघलाई ‘जानकारी तथा सहयोगको अपेक्षा सहित’ इमेल मार्फत त्यसलाई रोक्न आवश्यक कदम चाल्न अनुरोध पनि गरेका छन् ।
प्रशारित सामग्रीमा असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला आफूसँग, यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने गर्ने वैधानिक बाटो रहेको पाठकले स्मरण गराएका छन् ।