देश बनाउन प्रचार होइन परिवर्तनमुखी हुनुपर्छः अध्यक्ष ओली
काठमाडौं १९ अशोज
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताए ।
चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२ औंँ साधारणसभा तथा सामाजिक लेखा परीक्षणको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुक बनाउन हरेक ठाउँ र क्षेत्रबाट सबैले हातमा हात मिलाउनुपर्नेमा जोड दिँदै प्रचारमुखी भन्दा परिवर्तनमुखी भएर काम गर्न आह्वान गरे ।
बाल अधिकारको संरक्षणका लागि सरकारको मात्र नभई संस्थागत र व्यक्तिगतबाट योगदान हुनुपर्ने पनि उनले बताए ।कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय बालअधिकार सम्मान प्रारम्भिक बाल विकासका अभियानकर्ता अगाथा थापालाई प्रदान गरे । थापाले सेतो गुराँस बाल विकास संस्थाका माध्यममा यस क्षेत्रमा दिएको योगदानको कदर गर्दै दिइएको सम्मानका साथ २५ हजार रुपैयाँ राशि रहेको छ ।
नेकपा (एमाले) सांसद रामेश्वर फुयाँलले संसद्मा रहेर प्रारम्भिक बाल विकासका पक्षमा विगतमा पनि आफूहरुले काम गरेको बताउँदै संविधानको मौलिक हकमा व्यवस्था गरिएको बालअधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिए । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया