काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले आज (चैत १९) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद अर्थात् अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा शेयर निष्काशन गर्न लागेको हो।
यस अनुसार कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
यसअघि कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो। जस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा २०८२, बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
शेयर निश्काशन पश्चात् जम्मा भएको रकम कम्पनीले सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र महालक्ष्मी विकास बैंकमा आंशिक भुक्तानीका निमित्त प्रयोग गर्नेछ।