धरान । अगामी शनिबार अर्थात् वैशाख १३ गते दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ । यस प्रतियोगिता सुनसरीस्थित धरान गल्फ क्लबको गल्फ कोर्समा हुने भएको हो ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा कोशी प्रदेश गल्फ संघले आयोजना गर्न लागेको यस प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहनेछ । यसका साथै काठमाडौँ, पोखरा र भारतको सिलिगुडीबाट पनि खेलाडीको उल्लेख्य सहभागीता हुने जानकारी आयोजक कोशी प्रदेश गल्फ संघले जनाएको छ ।
कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलका अनुसार प्रतियोगितामा एमेच्योर , सिनियर, जुनियर र महिला गरेर झन्डै ८० खेलाडीको सहभागिता रहनेछ । यस प्रतियोगितामा ग्रस एन्ड नेट, नियरेस्ट टु द पिन, लङेस्ट ड्राइभ लगायत विधामा खेलाडीहरुको प्रतिस्पर्धा हुने जानकारी आयोजक संघले दिएको हो । प्रतियोगितामा विजयी हुने खेलाडीलाई मेडल र ट्रफी प्रदान गरिनेछ ।