काठमाडौँ । ‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१’ भोलीदेखि सुरु हुने भएको छ । चैत्र २८ गतेदेखि चैत ३१ गतेसम्म काठमाडाँैको भृकुटीमण्डपमा सञ्चालन हुने नर्सरी व्यवसायी संघले जनाएको छ ।
एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका ७०० भन्दा बढी प्रजातिका बोट बिरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिने छ । नर्सरी व्यवसायी संघले जानकारी गराएको छ । यसका साथै मलखाद, जैविक एवं रासायनिक विषादी, बीउबिजन, गमला, औजार उपकरण तथा प्रविधिका समेत स्टल रहने आयोजकले जनाएको छ ।
नर्सरी व्यवसायी संघले मंगलबार पत्रकार सम्मेलन गरी एक्स्पो सम्बन्धी सम्पूर्ण जानकारी गराएको हो । एक्स्पोमा कम्तीमा ५१ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै रु. एक करोड २५ लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा नर्सरी व्यवसायी सङ्घले राखेको छ ।
मेलामा ७४ व्यावसायिक स्टल, तीन फुड स्टल, सात अफिसियल स्टल तथा प्रतिस्पर्धाका पाँच वटा स्टल रहने जनाइएको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति रु ५० रहेको आयोजकले जानकारी गराएको छ ।
नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा हुने दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ को सह–आयोजक संस्थाहरू पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेको छ भने सहयोगी सस्था ए।जि।ए एग्रो, कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, सलोम एग्रीकल्चर, ग्रिस्मा नर्सरी, सृजना एग्रीकल्चर प्रा.लि. र ए.बि.टि मोटर्स साथै मेला स्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रा।लि। र एभरेष्ट फ्लोरिकल्बर एण्ड भेजिटेवल फार्म रहेको छ ।
नर्सरी व्यवसायीको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतिस्पर्धाको मूल्याङ्कन गर्न कृषि बागवानी विज्ञ, वनस्पतिविज्ञ, साथै माटो तथा पर्यावरणविज्ञसहितको संलग्नतामा तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ र ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’द्वारा एक व्यवसायीलाई सम्मान गरिने सङ्घले जनाएको छ ।
नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार प्रबर्द्धन गरी देशभरि छरिएर रहेका समग्र नर्सरी, पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी व्यवसायीहरुको हक हित र व्यवसायिक क्षमताको अभिवृद्धि गरी व्यवस्थित बनाउने उद्देश्यले २०८० असोज १५ गते नर्सरी व्यवसायी संघ औपचारिक रूपमा स्थापना भएको हो ।