काठमाडौँ । नेपालमा एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार अमेरिकाले विश्वभर सञ्चालित परयोजनाहरु बन्द गर्ने निर्णय गरे पनि नेपाललाई भने निरन्तरता दिने बुझिएको छ । परियोजनाले निरन्तरता पाउने देशहरुमध्ये नेपाल सहित अन्य तीनवटा देश पनि रहेका अन्तर्राष्ट्रिय सञ्चालमाध्यमहरुले जनाएका छन् ।
एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने अन्य तीनवटा देशहरु मंगोलिया, सेनेगल र आइभरी कोष्ट रहेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नेपाल र सेनेगलको प्रसारण लाइन परियोजना, मंगोलियाको फोहोर पानी प्रशोधन गर्ने परियोजना र आइभरी कोष्टको विद्यालयसम्बन्धी परियोजनाले निरन्तरता पाउनेछन् ।
अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारको काम अघि बढाइरहेको छ । अमेरिकाको ५५० मिलियन डलरको सहायता जोडेर नेपालको लगानीमा ५०० केभीए क्षमताको डबल सर्किट प्रसारण लाइन र सबस्टेशन निर्माण तथा सडक स्तरोन्नति र मर्मतको कार्य अघि बढेको छ । ग्रीडलाई मात्रै निरन्तरता दिने निर्णय भएको अवस्थामा सडक परियोजना भने प्रभावित हुनेछन् ।
अमेरिकाले एमसीसी अन्तर्गतको अनुदान बन्द गर्ने निर्णय गरेसँगै डजले सबै देशलाई परियोजनाको अनुदान भुक्तानी बन्द गर्ने निर्णयसहितको पत्र पठाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, नेपालमा भने अहिलेसम्म यस्तो किसिमको पत्र प्राप्त नहुनुले परियोजनाले निरन्तरता पाउनेमा विश्वास गरिएको हो । नेपालको अर्थ मन्त्रालयले अहिलेसम्म यस्तो खालको पत्र प्राप्त नभएकोले सहयोगले निरन्तरता पाउनेमा विश्वस्त रहेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारी बताउँछन् ।
‘पहिले नै ९० दिनका लागि भुक्तानी स्थगित गर्ने भनेर पत्र आएको थियो, पछि परियोजनालाई निरन्तरता दिन सकिने भन्ने जानकारी आएको थियो । पछिल्लो समय कुनै पत्र आएको अवस्था छैन,’ प्रवक्ता भण्डारी भन्छन्, ‘अहिले एमसीसीको काम निरन्तर रूपमा अघि बढिरहेकै छ । अहिलेसम्मको भुक्तानी अर्थ मन्त्रालयले गरिरहेको छ ।’