चितवन । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा आफू लागि परेका बताएका छन् ।
आज चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा पुग्न निरन्तर लागि रहेको बताएका छन् ।
भवन उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कतिपय व्यक्तिहरुले सरकार परिवर्तनको हल्ला चलाए पनि तत्काल सरकार परिवर्तन भइनहाल्ने बताए । ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले सबैलाई ढुक्कका साथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन् ।
यस अवसरमा प्रधानमन्त्री ओलीले भने, “देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्ण रुपमा लागेका छौँ । तपाईंहरु पनि ढुक्कका साथ यस अभियानमा लाग्नुस् । सबै मिलेर देश बनाऔँ ।” उनले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास समेत व्यक्त गरे ।
प्रशासकीय भवन उद्घाटनको कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटालगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उल्लेख्य सहभागिता थियो ।