ललितपुर । प्रसिद्ध गीतकार लोकराज अधिकारीको रचनामा अमेरिकी गायिका ज्याकलिन पेरालेजले गाएको ‘ए कान्छा एउटा कुरा सुनी देऊ’ बोलको नेपाली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतका शब्द अनुसार र भिडियोमा पर्यटकलाई नेपाली संस्कृति, नेपाली भूभाग, नेपाली खाना, नेपाली पन र नेपालीहरू मन परेको दृश्य समेटिएका छन् ।
भिडियो सार्वजनिक कार्यक्रममा गीतकार अधिकारीले अमेरिकी नागरिककै लागि भनेर लेखेको अनि सङ्गीत गरेको संभवत यो पहिलो नेपाली गीत भएको भन्दै नेपाली बोल्न नजान्ने गायिकालाई पनि नेपाली गीत गवाउन सकिन्छ भन्ने अनुभव लिएको बताए । सार्वजनिक कार्यक्रममा बोल्दै साहित्यकार तथा गीतकार डी आर ले यो गीत र भिडियोले नेपाली कला साहित्य सङ्गीतलाई अन्तर्राष्ट्रिय करण गरिसकेको भनाई राखे । उनले गीतकार अधिकारीको लेखन क्षमताको पनि उच्च कदर गर्दै पहिले नै तयार भएको सङ्गीतमा एक रातमा शब्द भरेर बेदेशीलाई गवाउन सक्ने कुरा चानचुने नभएको बताए । यस्तो प्रकारको गीत र भिडियो बनाउन राज्यले नै लगानी गर्नुपर्ने उनले बताए ।
पत्रकार एवं गीतकार सुमन वैरागीले सहजीकरण गरेको कार्यक्रममा सङ्गीतकार गोविन्द मधुर आचार्यले सङ्गीतको पाटो , गीत बनाउँदाको संस्मरण र सहकार्यबारे बोलेका थिए भने भिडियो निर्देशक प्रकाश धिताल र छाँयाकार सुविन गोदारले भिडियो छांयाकन गर्दाको अनुभव साटेका थिए । भिडियोकी अभिनेत्री अष्ट्रेलियन नेपाली मञ्जु कोइरालाले आफ्नो पहिलो यात्रा नै अबस्मरणिय बनेको र आफू जहाँ रहे पनि नेपाली कला साहित्य सङ्गीतको सेवा गरिराख्ने बताइन् । उनले गीतकार अधिकारी सहितको टिम सँग काम गर्दा पहिलो काम नै ऐतिहासिक बनेको भन्दै खुसी व्यक्त गरिन् ।
भिडियोमा मञ्जु सँगै युविन ढुङ्गानाको अभिनय रहेको छ । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । संयुक्त राज्य अमेरिकाको टेक्सस निवासी गायिका लघु चलचित्र निर्माणको क्रममा छोटो बसाइका लागि नेपाल आएका बेला उक्त गीत रेकर्ड गरिएको थियो ।