काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले आफ्नो सेवालाई छिटो र चुस्त बनाएको छ । अब अस्पतालमा सेवा लिन आउने बिरामीले लामो समय लाइनमा बस्नु पर्ने छैन । विरामीको प्रतिक्षाको समयलाई अस्पतालले एक घण्टामा सीमित गरेको छ । यससँगै अब विरामीले अस्पतालमा एक घण्टाभन्दा बढी लाइन बस्नु नपर्ने भएको छ ।
विरामीको चाप बढेसँगै अस्पताले आफ्नो सेवा प्रवाहलाई थप चुस्त बनाउन अस्पतालले बिरामीको प्रतिक्षाको समयलाई सीमिततामा झारेको हो । अहिले अस्पतालले दैनिक ६०० देखि ९०० जनासम्म विरामीको उपचार गराउँदै आएको छ । विरामीको चापसँगै प्रतिक्षाको समयलाई एक घण्टामा झारेको अस्पताल स्रोत बताउँछ ।
आजभन्दा करिव ५१ वर्ष अघि स्थापना भएको यस अस्पताले निरन्तर आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । वि.सं २०३० चैत २६ गते जनसहयोगमा काठमाडौंको त्रिपुरेश्वरमा अग्रज समाजसेवी तथा नेत्र विशेषज्ञद्वारा सेवा सुुरु गरेको यो अस्पतालले आँखासम्बन्धी सम्पूर्ण रोगको उपचारसेवा दिँदै आएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८१ /८२ को आठ महिनामा अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत एक लाख ३१२, आकस्मिक २० हजार ९६, सर्जरी पाँच हजार ७९५, आँखा शिविरमा परीक्षण ४० हजार ६१५ र शिविरमा सर्जरी ८८३ जनालाई सेवा उपलब्ध गराएको थियो । अर्काेतर्फ, अस्पतालले विद्यालयस्तरमा आँखा परीक्षण कार्यक्रम पनि सञ्चालन गरिराखेको छ ।
आगामी दिनमा अस्पतालले आफ्नो न्यूनतम शुल्कमा वा निःशुल्क सेवासमेत प्रदान गर्ने नीति लिएको छ । अस्पतालले ज्येष्ठ नागरिकमध्येमा ८० वर्ष माथिका व्यक्तिलाई गत वर्षदेखि मोतियाविन्दु शल्यक्रियामा ५० प्रतिशत सहुलियत सेवा दिँदै आएको छ । प्रमुख कार्यकारी अधिकृतका अनुसार गत चार वर्षमा अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी आगामी दिनमा अस्पतालले बिरामीको सुविधाका लागि सरकारको स्वास्थ्य बिमा योजना लागू गर्ने कार्य अघि बढाइसकेको छ । आगामी चार वर्षको लक्षित बिरामी सङ्ख्या वृद्धिलाई मध्यनजर गरी थप भौतिक पूर्वाधारको निर्माण तथा हाल भइरहेको स्थानको अधिकतम सदुपयोगतर्फ ध्यान कुरा एक विज्ञप्ति मार्फत उल्लेख गरिएको छ ।