ललितपुर । नेपाल एसबिआई बैंक नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
सम्झौता कार्यक्रम बैंकका प्रमुख का2र्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्यालसहित अन्य वरिष्ठ अधिकृतहरूको पनि उपस्थिति रहेको थियो।
यस सम्झौतासँगै नेपाल एसबिआई बैंकले राष्ट्रियस्तरमा डोमेस्टिक कार्ड योजना सञ्चालन गर्ने, उक्त कार्ड स्वीकृति दिने तथा प्रयोगकर्ताहरूलाई प्राप्त गर्ने सेवा दिनसक्ने छ। एनसीएचएलको कार्ड स्विच सञ्जालसँग एकीकृत भएसँगै अब बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज र सुरक्षित डिजिटल भुक्तानी सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
बैंकले राष्ट्रिय भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न तथा विदेशी भुक्तानी प्रणालीमा निर्भरता घटाउन राष्ट्रिय कार्ड योजनामा आवद्ध हुने निर्णय गरेको जनाएको छ। यसबाट डिजिटल कारोबारमा पारदर्शिता, पहुँच र सुरक्षामा समेत सुधार आउने विश्वास लिइएको छ।
नेशनल कार्ड सिस्टमलाई भविष्यमा क्रेडिट कार्ड, प्रिपेड कार्ड, भुक्तानी गेटवे तथा अन्तर्राष्ट्रिय कारोबारसम्म विस्तार गरिने योजना रहेको एनसीएचएलले बताएको छ।