काठमाडौं । यथाशिघ्र विद्यालय शिक्षा ऐन पारित गरियोस भन्दै सडक आन्दोलन गरिरहेका देशभरका शिक्षकहरुले प्रत्येक दिन फरक फरक शैलीमा आन्दोलन गरिरहेका छन् । आन्दोलनमा उत्रेको नेपाल शिक्षक महासंघले आजदेखि शैक्षिक आम हडतालको घोषणा गरेको छ ।
यस सन्दर्भमा नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक संघसँग यसअघि भएका सहमति र सम्झौतालाई कार्यान्वयन गर्न र यसको दिर्घकालीन निकास निकाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा भनिएको छ, शैक्षिक सुधारका सम्बन्धमा सरकारसँग भएका सम्झौता र सहमति कार्यान्वयनका लागि शिघ्र विद्यालय ऐन पारित गर्न माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु यतिबेला राजधानी केन्द्रीत आन्दोलनमा छन् । आन्दोनका क्रममा नेपाल शिक्षक महासंघले आजदेखि देशव्यापी रुपमा शैक्षिक आमहडतालका कारण विद्यालयहरुमा पठनपाठन समेत प्रभावित बनेको छ ।
उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि नेपाल नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरु सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्घ वार्ता सम्बादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।