काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । सोमबार राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सोमबार नै सहमति भने हुन सकेन ।
सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले नेतृत्व गरेको थियो । लामो वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका छन् । उनले भने, “केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।”
शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे । उनले महासंघसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी समेत दिए ।
तर, नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल टुंटिए पनि अधिकांश विषयमा छलफल अझै बाँकी रहेको बताए । उनले भने, छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा अधिकांश सांसदहरुले शिक्षक आन्दोलनका विषयमा छलफल गरी यथाशक्य चाँडो विवाद टुंग्याउन दवाव दिएका थिए । बैठकले शिक्षक महासंघसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताएका थिए ।
मन्त्रिपरिषद् बैठक सकिए लगत्तै महासंघसँग सोही दिन साँझबाट वार्ता सुरु भएको हो । सोमबार राति अबेरसम्म भएको छलफलमा सकारात्मकता देखिएपछि बुधबारसम्म समस्या समाधान हुनेमा सरकार विश्वस्त रहेको शिक्षामन्त्री रघुजी पन्तले जानकारी गराए ।
विद्यालय शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका विभिन्न माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् ।