मोरङ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक नीति बनाउन लागिएको बताउनुभएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित अनलाइन मिडिया, युट्युव तथा पत्रकारिता क्षेत्रका सामसायिक सवालका सम्बन्धमा आयोजित अभिमुखीकरण तथा छलफलका क्रममा उहाँले पत्रकारको सुरक्षाप्रति सरकार सम्वेदनशील रहेको समेत उल्लेख गर्नुभयो । सचिव अर्यालले सञ्चारकर्मीलाई समाचारमार्फत जनतामा जागरण गराउनका लागि सरकारले आवश्यक सेवा सुविधा उपलब्ध गराउने पहल सुरु गरेको उल्लेख समेत गर्नुभयो । त्यस अवसरमा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले जनतामा परेका समस्याका सम्बन्धमा पत्रकारले आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पत्रकारिताका समाजको ऐना भएकाले सत्यतथ्यका आधारमा समाचार पस्कन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ कोशीका अध्यक्ष भरत खड्का, मोरङकी अध्यक्ष सुशीला पाठकले पत्रकारको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । मन्त्रालयका सूचना अधिकारी ममता बाँस्तोला, प्रेस काउन्सिलका सदस्य विजयराज अधिकारी र महासङ्घ मोरङ अध्यक्ष पाठकले पत्रकारिताका क्षेत्रलाई थप प्रभावकारी बनाउने, पत्रकार आचारसंहिता तथा १२ बुँदा र मोरङमा पत्रकारिताको अवस्था विषयक कार्यपत्र पत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा महासङ्घ मोरङकी उपाध्यक्ष तारा आचार्य, पत्रकारहरु गणेश लम्साल, तेजेन्द्र भण्डारी, सत्यनारायण शर्मा र विजय खतिवडाले घुम्ती शिविरमार्फत प्रेस पास उपलब्ध गराउनुपर्ने, निजी क्षेत्रका सञ्चार गृहले श्रमजीवी पत्रकारको बाँकी पारिश्रमिक भुक्तानीको पहल गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।