ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत थप कार्यक्रम अगाडि बढाएको बताएका छन् । एग्री प्रडक्ट नेपालले सञ्चालन गरिरहेको ‘रैथाने कृषि हाटबजार’ को एक सयौँ हप्ता सम्पन्न गरेको अवसरमा आज आयोजित कार्यक्रममा उनले सरकार रैथानी बाली संरक्षण र परम्परागत कृषि सीप संरक्षणमा क्रियाशील रहेको बताए ।
मन्त्री अधिकारीले पछिल्लो समय स्थानीय उत्पादन, परम्परागत बाली र त्यसको उपभोगका विषयमा जागरण आइरहेको उल्लेख गर्दै अब अत्यावश्यक खाद्यवस्तुको आयात प्रतिस्थापन गर्ने गरी व्यावसायिक विकासमा केन्द्रित हुनुपर्ने बताए । मन्त्री अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको धारणा राखे ।
पूर्वमन्त्री शेरबहादुर तामाङले अब कुरा मात्रै नभई काम गर्नुपर्ने बेला आएको उल्लेख गर्दै सरकारले स्थानीय परम्परागत बालीको संरक्षणका लागि देखिने गरी काम गर्नुपर्ने धारणा राखे । उनले सरकारले नीतिगत सहजीकरण गर्ने र किसानले जिम्मेवारीपूर्वक काम गरे बेरोजगारीको समस्या समाधानमा ठूलो टेवा पुग्ने धारणा राखे ।