चालु आर्थिक वर्षको आठ महिना अवधिमा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ बराबर विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको आर्थिक विवरणमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको उल्लेख छ।
राज्यले युवाहरूलाई रेमिट्यान्स भित्र्याउने औजार मानिरहँदा हरेक दिन युवाहरू विदेशमै अस्ताउँछन्। शनिबार केही युवाहरू बाकसमा स्वदेश फर्किएका छन्। तिनैमध्ये एक हुन् – चन्द्रदेव कामत।
काठमाडौंं आइपुगेका छन् उनकाे बुबा रतन कामत ताताे मौसममा भने उनको मन चिसिएको छ।
तर, चिसिएको मन तताउन उनीसँग कुनै पनि विकल्प छैन। किनभने उनी छोराको शव लिन आएका हुन्। यो दुनियाँमा आफ्नो सन्तानको मरेको लाश हेर्नुपर्ने अभागी पिता हुन् उनी।
शनिबार उस्तै गरेर पूर्वबाट घाम उदायो। तर, रतनको भने जीवनको उज्यालो खाडीमै अस्ताइसकेको छ।
व्यक्त गर्न नसकिने दु:ख साच्चै कहालीलाग्दो हुन्छ। उनको अनुहारमा देखिएको त्यो पीडा हेर्न सकिन्छ। सायद महसुस गर्न सकिँदैन होला।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरस्थित प्रतीक्षालयमा ५४ वर्षीय कामत मलिन अनुहार लिएर टुक्रुक्क बसिरहेका थिए। शनिबार बिहान ८ बजे त्यहाँ भेटिएका उनी घरि परदेशिएका सन्तानहरूको अनुहार हेर्थे त घरि बिदा मनाउन स्वदेश फर्किएका सन्तानहरूको।
तर, ती अनुहारमध्ये कोही पनि उनका छोरा थिएनन्। आफ्नै लवजमा भक्कानिँदै थिए, ‘जिउँदो हुन्थ्यो भने मेरो छोरो पनि यसरी नै आउँथ्यो होला।’
परिवार आफन्तको मिलन र विछोड गराउने विमानस्थलको विशेषता हो। क्षणिक समयका लागि परिवारसँग छुट्टिएर सुन्दर भविष्यको कल्पना गर्दै नेपाली युवाहरू आँशु लुकाउँदै विदेशिएका छन्।
कामतका छोरा पनि सुन्दर भविष्यको कल्पना गरेर यही बाटो विदेशिएका हुन्।
चार वर्षअघि मलेशिया गएका कामतका जेठा छोरा चन्द्रदेव कामतले गत २५ गते सदाका लागि उतै अस्ताए । ‘फोन गरेर जेठकाे १ गते आउँछु भनिरहेको थियो, समय अघि नै उ बाकसमा आयो’, विरक्त भावमा उनले सुनाए।
छोराको मृत्युको खबर आउँदाको दिन कामत बारीमा काम गरिरहेका थिए। दिनभरको थकान मेट्न नपाउँदै कसैले उनको कानमा छोरोले संसारबाट बिदा लिएको अप्रिय घटना सुनायो। जुन उनले कहिल्यै कल्पना गरेका थिएनन्।
गरिबीमा हुर्किएका चन्द्रदेव परिवारको दु:ख देख्न नसकेर विदेशिएका थिए। परिवारलाई सवल बनाउने सपना बोकेर मलेसिया पुगेका उनी कफिनमा फर्किए।
चन्द्रदेव मलेशिया जाँदा र घर खर्चका लागि लिएको ऋणको ब्याजमिटर उकालो लाग्दै गइरहेको छ। उनले मलेशियामा बस्दा न त ऋण तिरेर सके, न त उनी आफैँ जीवितै फर्किए। अब सिरहामा गर्मीभन्दा ऋणको रापले कामतको परिवारलाई गलाउँदै लानेछ।
कोरोना महामारी नभएको भए चन्द्रदेव गत वर्ष घर आइसक्थे। महामारीकै कारण कम्पनीले छुट्टी नदिँदा उनी घर आउन पाएनन्।
‘घर जान्छु’ भन्दा पनि कम्पनीले चन्द्रदेवलाई आउन नदिएको कामतले बताए। चन्द्रदेवलाई निको नहुने रोगले च्यापेको थिएन। पायल्सको उपचार गरिरहेका थिए।
दिसामा रगत बग्दा उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गइरहेको थियो। ‘छोराले फोन गर्दा पायल्सकै कारण स्वास्थ्य अवस्था कमजोर हुँदै गइरहेको छ भनेर सुनाउने गरेको थियो,’ उनले भने,’ नेपाल आएर राम्रोसँग उपचार गर्ने भनिरहेको थियो। महामारी नभएको भए मेरो छोरा आउँथ्यो र उपचार गर्थ्यो, आज यस्तो अवस्थामा देख्नुपर्दैन थियो होला।’
चन्द्रदेवले घरमा लागेको ऋण तिर्न सकेनन्, परिवारकै काँधमा राखेर अस्ताए। गलबन्दीले आँसु पुछ्दै उनका बुबा रतनले भने, ‘करिब चार वर्ष बस्दा पाँच लाख रुपैयाँजति पठायो, अहिलेसम्म घरमा लागेको ऋण तिर्न सकिएको छैन।’
रतनले काँप्दै थपे, ‘बुढेसकालको सहारा उही थियो, यही छोराको आशामा बसेको थिए, मेरो सहाराको लठ्ठी टुट्यो।’ चन्द्रदेव बाँचेको भए जेठको पहिलो साता घरको आँगन टेक्थे। तर, नियतिको बज्र पर्यो र उनी कफिनमा सुतेर वैशाख ४ गते घरको आँगनमा पुगे।

फेसबुकबाट तपाईको प्रतिक्रिया