
ललितपुर । आदिवासी जनजाति चलचित्र महोत्सवको पाँचौँ संस्करण शुक्रबार अर्थात् असार ६ गतेदेखि सुरू हुने भएको छ। आदिवासी चलचित्र महासंघको आयोजनामा यही असार ६ देखि ८ गतेसम्म चलचित्र महोत्सव हुन लागेको आयोजकले काठमाडौंमा गरेको पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको हो ।
यस वर्षको आदिवासी जनजाति महोत्सवको नारा ‘आदिवासी जनजाति चलचित्रको प्रवद्धर्न, मौलिक भाषा संस्कृतिको संरक्षण’ राखिएको छ। महोत्सव आदिवासी जनजाति चलचित्र महासंघ र आदिवासी जनजाति चलचित्रकर्मीहरुको संयुक्त आयोजनामा गर्न लागिएको हो ।
कार्यक्रम चलचित्र विकास बोर्डको हलमा गरिँदैछ भने महोत्सवको औपचारिक समुद्घाटन माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नेछन्। महोत्सवमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथाकार, उत्कृष्ट छायाकार, उत्कृष्ट लघु फिल्म, उत्कृष्ट वृत्तचित्र, पब्लिक चोईस अवार्ड र जुरी प्रोत्साहन अवार्ड गरी ८ विधामा पुरस्कार वितरण गरिनेछ।
चलचित्रको माध्यमबाट आदिवासी जनजातिहरुका मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण, प्रवद्र्धनका साथै पर्यटन विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहयोग गर्ने लक्ष्य आयोजकको रहेको छ ।
अहिलेसम्म आदिवासीको कथामा आधारित करिव ७०० चलचित्र बनिसकेको आयोजकले दाबी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया