काठमाडौँ । गत शुक्रबार राजावादीहरुको प्रदर्शनका क्रममा प्रदर्शनकारीको एक जत्थाले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाट गर्यो । लुटपाटका क्रममा त्यहाँ संलग्नहरुसँग एक्लै प्रतिकारमा उत्रेर लाठी बर्षाउने त्यहाँका सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले रु. ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ।
बुधवार विहान आयोजित एक कार्यक्रमका बिच भाटभटेनी सुपरमार्केटले एक कर्तव्यनिष्ट कर्मचारीले गर्नु पर्ने कर्तव्य पराजुलीले पुरा गरेको भन्दै उनलाई सम्मान गरेको हो । यसै क्रममा अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ र थप दुई जनालाई २५/२५ हजारका दरले सम्मान गरेको छ ।
कोटेश्वरस्थित भाटभेटनी सुपरमार्केटमा अध्यक्ष मीन बहादुर गुरुङले पुरस्कारसहित उनीहरुलाई सबैलाई सम्मानित गरेका हुन् । सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर काममा खटेका कर्मचारीको मनोबल उच्च बनाउन सम्मान गरिएको सुपरमार्केटका सिइओ राजु पौडेलले बताए।
रु. पाँच लाख रुपैयाँले पुरस्कृत पराजुली अहिले सामाजिक सञ्जालमा निकै प्रिय बनेका छन् । उनी यसबेला लुटपाटमा संलग्नमाथि गरेको ठाडो प्रतिकारकै कारण सामाजिक सञ्जालमा भाइरल छन् । दर्जनौँ सङ्ख्यामा रहेका व्यक्तिहरूलाई उनले लट्ठीले कुट्दै भगाएको भिडियो जताततै देख्न सकिन्छ । उनी लामो समयदेखि भाटभटेनीमा सुरक्षाकर्मीको रुपमा कार्यरत छन् ।
शुक्रबारको घटनाका क्रममा कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटमा मात्र करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । त्यसमध्ये ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको बताइएको छ । उक्त घटनापछि पनि शनिवार बिहानदेखि नै सुपरमार्केट सञ्चालनमा आएको थियो ।