सुर्खेत । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा यस वर्ष पनि विद्यार्थीले समयमा पाठ्यपुस्तक पाउने सम्भावना देखिएन । अघिल्ला वर्षहरुमा पनि कर्णाली प्रदेशका कैयौ विद्यालयका विद्यार्थीहरुले यो समस्या झेल्दै आएका हुन् । यस वर्ष पनि कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक पुग्ने सम्भावना देखिएन । पाठ्यपुस्तक विक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताव समयमै खरिद नगर्दा नयाँ भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताव पुग्ने सम्भावना नरहेको हो ।
प्रदेशलाई चाहिने कुल २५ हजार सेट किताबमध्ये यतिबेला गोदाममा १७ हजार किताब छन् । जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छापेर गोदाममा स्टोर गरे पनि किताब लिन बिक्रेता समयमा नआउँदा किताव गोदाममै थन्किने र विद्यार्थीको हातमा समयमा नपुग्ने समस्या देखिएको हो । समयमा छाप्दा पनि पाठ्यपुस्तक गोदाममै थन्किने र विद्यार्थीको हात रित्तो हुने समस्या यस वर्ष पनि देखियो ।
निजी क्षेत्रले पुरानो स्टक देखाउँदै कमिसन बढी दिएर किताब बिक्री गर्दा जनक शिक्षामा किताब खरिद गर्न विक्रेता कम आएको आरोप यतिबेला लगाएको छ । सरकारले कक्षा १ र ५ जनक शिक्षालाई छाप्न लगाएको थियो । सोही किताब निजी क्षेत्रले पनि छापेर कमिसन दिइ बिक्री गरेको जनक शिक्षाको आरोप छ
निजी क्षेत्र र जनक शिक्षा सामग्री केन्द्रको तालमेल नमिल्दा कर्णाली प्रदेश कार्यालयमा पाठ्यपुस्तक बिक्री सुरु भएपनि गोदाममै थन्क्याउनु परेको हो । कर्णाली प्रदेशका जिल्लाका विक्रेताहरुले पुस्तक खरिद गर्न नआएका कारण जनक शिक्षा सामग्री केन्द्र लिमिडेटको गोदाममा पुस्तक थन्किएको बुझिएको छ । जनक शिक्षाका अनुसार हालसम्म ६६ प्रतिशत पनि पुस्तक बिक्री भएको छैन ।
एकातिर विद्यार्थीय समयमा पाठ्यपुस्तक नपाएको गुनासो छ भने अर्कोतिर जनक शिक्षाले गोदाममै थन्क्याउनु परेको गुनासो छ । जनकशिक्षा विक्रेता समयमा नआएका कारण गोदाममा पाठ्यपुस्तक थन्किएको छ भन्छ । उता विद्यालयहरु जनकशिक्षाले समयमा पाठ्यपुस्तक नछापेर विद्यार्थीले वर्षेनी समयमा नपाउने समस्या थपिएको गुनासो गर्छ ।
कर्णाली प्रदेशको डोल्पा जिल्लामा फागुनमा नयाँ शैक्षिकसत्र सुरु हुनेगर्दछ । तर त्यहाँ चैतको अन्तिम हुन लाग्दा पनि किताब पुग्न सकेको छैन ।