ललितपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको दाबी गरेका छन् । पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको दाबी गरे ।
उनले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै भने, ‘पूर्वाग्रह राखेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको छ ।’
आफूमाथि लगाएको गलत आरोप विरुद्ध दृढतासाथ उभिने भन्दै अध्यक्ष नेपालले न्यायपालिकाले आफूलाई न्याय दिने विश्वास व्यक्त गरे ।नेपालले पार्टीका नेता कार्यकर्तालाई विचार नमिले पनि कसैसँग शत्रुता नमोल्न आग्रह गरेका छन् । उनले कुनै व्यक्तिप्रति पूर्वाग्रह राखेर बदलाको भावनामा नचल्न आग्रह गरे ।