काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेल जाने भएका छन् । सहकारी ठगीको मुद्दामा उनी जेल जानु परेको हो । शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै उनलाई थुनामा राख्न आदेश दिए लगत्तै लामिछानेलाई प्रहरीले सोही दिन पक्राउ गरेको हो।
रास्वपा सभापति लामिछानेलाई आज कारागार पठाइने भएको छ । शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई आज (सोमबार) अदालतमा पेश गर्न लागिएको हो। सरकारले पछिल्लो समयमा सहकारीको रकम अपचलनको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने र कारबाहीको प्रक्रियालाई तीब्ररुपमा अगाडि बढाउने क्रममा उनी कारागार पुग्ने भएका छन् ।
पार्टी सभापति लामिछानेलाई गत माघ ६ गते जिल्ला सरकारी कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । सहकारीको रकम अपचलन गरेको कसुरमा कुल ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । ती ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कुल १ अर्ब ४३ करोड ८६ लाख २ हजार १ सय ३५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।