काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोपको रूपमा आफूलाई देखाइएको एक एआई तस्वीर राष्ट्रपति कार्यालयको इन्स्टाग्राम खाताबाट शेयर गरेपछि क्याथोलिक समुदायबाट तीब्र विरोध भएको छ। गत अप्रिल २१ मा पोप फ्रान्सिसको निधनपछि क्याथोलिक समुदाय शोकमा रहेको बेला ट्रम्पले आफूलाई पोपको अवतारमा देखाउने फोटो सार्वजनिक गरेका हुन् । ट्रम्पले शेयर गरेको उक्त तस्वीरमा उनी पोप जस्तै सेतो पोशाक र टोपीमा देखिएका छन् । तस्वीरमा उनी घाँटीमा ठूलो क्रस लगाएर गम्भीर भावमा औँला उठाउँदै उभिएका छन् ।
ट्रम्पले आफ्नो आस्थाको मजाक उडाएको भन्दै न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले आरोप लगाएको छ। यसको केही दिन अगाडि ट्रप्पले मजाक गर्दै “म पोप बन्न चाहन्छु”, भनेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसरी विवादमा तानिएको यो पहिलोपटक भने होइन ।
यस अघि पनि उनी पूर्व राष्ट्रपति जो बाइडनले प्रो–एबोर्शन र्यालीमा ‘‘साइन अफ द क्रस’ बनाएका कारण क्याथोलिक समुदाय रुष्ट भएको थियो। भ्याटिकनले भने हालसम्म ट्रम्पको उक्त तस्बिरमा कुनै प्रतिक्रिया दिएको छैन। भ्याटिकनमा बुधबारदेखि नयाँ पोपको चयन प्रक्रिया सुरु हुन लागेको छ।
ट्रम्पको यो तस्वीर सार्वजनिक भएसँगै न्यूयोर्क क्याथोलिक सम्मेलनले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “मिस्टर प्रेसिडेन्ट, यो फोटोमा केही पनि रमाइलो छैन। हामीले भर्खरै आफ्ना प्रिय पोपलाई बिदा गरेका छौँ र अब एक गम्भीर निर्वाचन प्रक्रिया सुरु हुँदैछ। कृपया हाम्रो आस्थाको मजाक नउडाउनुहोस्।’