ललितपुर प्रकृतिमा आधारित खेती प्रणालीलाई जोगाउन जैविक कृषि जागरण यात्रा हुने भएको छ । खाद्यका लागि कृषि अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी दिएको हो । अभियानका संयोजक उद्धव अधिकारीले पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठूलो सङ्कटमा रहेकाले जागरणका यात्रा गर्न लागिएको बताउनुभयो । “रासायनिक मल र विषादीको प्रयोग निरन्तर बढ्दो छ । यसले माटो र मानव स्वास्थ्यलाई थप सङ्कटग्रस्त बनाइरहेको छ । जलवायु परिवर्तन र हानिकारक आयातित प्रशोधित अल्पपोषक खानामा भरपर्नु परिरहेको छ । यसैविरुद्ध सचेतना फैलाउने उद्देश्यले जागरण यात्रा गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।
संयोजक अधिकारीले जागरण अभियानबाट प्राप्त सुझाव तीनै तहका सरकारलाई कृषि नीति निर्माणका लागि सहयोग पुग्ने गरी पेस गरिने बताउनुभयो । जागरण अभियानका क्रममा जैविक कृषि प्रणालीलाई प्रोत्साहित गर्नेसम्बन्धी मुद्दाको उठान गरेर स्थानीय तहका सरकारसँग छलफल गर्ने र बिग्रिँदै गरेको कृषि क्षेत्र जोगाउन दबाब र समन्वय गर्ने उहाँको भनाइ छ । अभियानका सदस्य दिपेश नेपालले आमकिसानको सरोकार सम्बोधन गर्ने जिम्मेवारी लिएका सरकार र सरोकार समूहलाई दबाब दिन पनि यात्रा सहयोगी हुने धारणा राख्नुभयो ।